७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

कोरोनाको भ्याक्सिन खरिद प्रक्रिया पारदर्शी हुन्छ : स्वास्थ्य मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भ्याक्सिनको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका हुन्। खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको समेत उनले बताए।

भ्याक्सिन आयात भएको ७ दिन भित्रमा वितरण शुरु भइसक्ने उनको दाबी छ। भ्याक्सिन कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार भ्याक्सिन केन्द्रहरुलाई परिचालन गरिने उनले बताए। यस्तै ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरु समेत परिचालन गरिनेछ।

भ्याक्सिनको प्राप्ती अन्य व्यवसायीक वस्तुको प्राप्ती जस्तो नभई राजनीतिक वस्तुको रुपमा देखा परेकाले आपूर्तिमा समस्या भएको पनि उनले बताए। तरपनि सरकारले भ्याक्सिन आयातका लागि राजनीतिक पहल गरिरहेको उनले बताए।

उनले भ्याक्सिनको खरिद प्रक्रियामा देखिएका आशंकाहरुलाई झुटो सावित गर्ने पनि बताए। आफूले रुस, भारत र युएईका राजदूतहरुसँग भ्याक्सिन ल्याउने सम्बन्धमा कुरा गरिसकेको र भ्याक्सिन उत्पादन गर्ने अन्य मुलुकहरुसँग पनि राजनीतिक पहल भइरहेको उनले बताए।

निजी क्षेत्रलाई पनि खरिद प्रक्रियाबाट टाढा राख्न नचाहेको मन्त्री त्रिपाठीले स्पष्ट पारे। पहिले सरकार सरकारबीच खरिद प्रक्रिया अगाडि बढाउने र त्यसपछि निजी क्षेत्रबाट समेत ल्याउन पहल गर्ने उनले जानकारी दिए।

भ्याक्सिनको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मी लगायत अग्रपंतिमा रहेका व्यक्तिहरुलाई, ५५ वर्ष उमेर माथिका र दिर्घ रोगिहरुको लागि उपलब्ध गराउने योजना सरकारको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*