८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

किसान आन्दोलनले दिल्ली तनावग्रस्त : गणतन्त्र दिवसका दिन किसान र प्रहरीबीच झडप

सरकारले ७२ औं गणतन्त्र दिवस मनाउदै गर्दा किसान आन्दोलनले उग्र रुप लिएपछि भारतको राजधानी नयाँदिल्लीका विभिन्न स्थान तनावग्रस्त बनेको छ । मंगलबार बिहान दिल्लीको मुख्य भागतर्फ अगाडि बढेका आन्दोलनरत किसानहरु उग्र बनेपछि आईटीओ, अक्षरधामलगायतका स्थानहरु तनावग्रस्त बनेको हो ।

विशेषगरी आईटीओस्थित दिल्ली प्रहरीको मुख्यालयको सामुन्ने नै आन्दोलनरत किसान र प्रहरीबीच झडप भएको छ । ट्रयाक्टरसहित पुगेका किसानहरुले बसलगायत सार्वजनिक सम्पत्ति तोड्ने र प्रहरीमाथि समेत आक्रमण गरेपछि परिस्थिति उग्र बन्न पुगेको हो । किसानहरुलाई रोक्न प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको छ ।

तर, किसानहरुको संख्या धेरै भएका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे गरेको छ । गणतन्त्र दिवसको अवसरमा राजधानी नयाँदिल्लीको इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परे सहितको भव्य कार्यक्रम चलिरहेकै बेला त्यहाँबाट केही किलोमिटरको दूरीमा किसानहरुले सरकारको विरोधमा ऱ्याली निकालेका हुन् ।

जबकि आन्दोलनरत किसान र प्रहरीबीच इन्डिया गेटको कार्यक्रम सकिएपछि १२ बजेपछि मात्र ऱ्याली निकाल्ने सहमति बनेको थियो । तर, त्यसविपरीत किसानहरुले मंगलबार बिहानैदेखि ऱ्याली निकालेका छन् । मोदी सरकारले ल्याएको कृषिसम्बन्धी तीनवटा कानुनको विरोधमा विगत पाँच महिनादेखि भारत किसानहरु आन्दोलनरत छन् । विशेषगरी पन्जाब, हरियाणा, उत्तर प्रदेश, कर्नाटक, महाराष्ट्र र पश्चिमबंगाललगायतका राज्यमा ती कानुनको चर्को विरोध हुँदै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*