१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

स्वरोजगार कर्जाले व्यवसायी मात्र हैन परिवार संगै रमाउने वातावरण पनि बनाई दियो रामेछापकी जमुनालाई

लिखु तामाकोषी गाउँपालिका ६ खिम्ती रामेछापकी जमुना कार्कीले गाईपालन गरेको ४ बर्ष भयो । जमुनाको गोठमा ५ वटा गाई छन् । गाईले आजकाल दैनिक ५० लिटर सम्म दुध दिन्छन् ।
जमुनाका गाईले दिएको दुध धेरै जसो गाँउघरमै बिक्छ । बाँकी दुध करिब २० मिनेट हिडेर खिम्ती बजारको एक डेरीमा जमुनाका श्रीमान श्रीमती मिलेर बेच्न लैजान्छन् । दुध ५८ रुपैयाँ लिटरले बिक्छ रे ।
जमुनाले दुध बेचेरै बर्षको ५ लाख ५० हजार भन्दा माथि आम्दानी गर्छिन् । त्यहि आम्दानीबाट गाईलाई दान, पराल, आफ्नो घरको नुन तेल, घर खर्च छोरा पढाउने सवै यसैबाट पुगेको जमुना बताउँछिन् । गाईलाई कुडों खर्च, घर खर्च सवै गरेर बर्षमा झण्डै २ लाख पचास हजार जति चोखो बचत हुन्छ रे जमुनाको गाईपालन व्यवसायबाट ।


जमुनाको ४ जनाको परिवार छ । एक छोरा, दुई छोरी, श्रीमान् र आफु । छोरीको केहि समय पहिले बिहे गरिदिएको जमुना भन्छिन् । बिहे खर्च पनि यहि गाईपालन व्यवसायबाटै सम्भव भएको उनको भनाई छ ।
यति राम्रो आम्दानी होला भन्ने जमुनाले कल्पना पनि गरेकि थिईनन् रे । जमुनाका श्रीमान झम्क बहादुर कार्की २०६० सालमा रोजगारीको सिलसिलामा कतार गएका थिए । कतारमा भने जस्तो अम्दानी नभएपछि उनि नेपाल फर्किए ।
केहि महिना नेपालको बसाई पछि झम्कलाई फेरी छिमेकी देश भारत कमाउन जान मन लाग्यो । शिलगुढी, दिल्ली मेघालय, सिक्किम जम्मै भ्याए । तर न आम्दानी न मनमा चैन । झम्क फेरी घर फर्किए । जहाँ गए पनि केहि कमाइनै भएन । झम्कको १२, १५ बर्ष त्यत्तिकै बिना कमाई खेर गयो ।
२०७५ सालमा घरमै रहँदा खिम्ती गाउँमा गाईपाल्ने हल्ला चल्यो । स्थानीय सहकारीले सहुलियत व्याजमा व्यवसाय गर्नेलाई ऋण दिने कुरा झम्कको परिवारले पनि थाहा पायो ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवसाय गरी स्वरोजगर हुनेलाई सहुलित कर्जा दिने कार्यक्रम अन्तरगत जमुनाको परिवारले पनि रु २ लाख सहुलित कर्जा पायो । खिम्तीकै जनहितकोष बचत तथा ऋण सहकारी संस्था मार्फत पाएको उक्त पैसाले जमुनाको परिवारले २ वटा गाई किन्यो र गाई पालन व्यवसाय सुरु गर्यो ।
दुई वटा जर्सीजातका गाई पालन सुरु गरेको जमुनाको गोठमा अहिल ५ जिउ गाई छन् । ४ वटा दुहुना (लैना) छन् । एउटा बिहाउने छ । जमुनाका श्रीमन श्रीमती अहिले गाई स्याहार्ने काममा व्यस्त हुन्छन् ।
श्रीमान् त्यत्रो समय बिदेश र घर गर्दा खेर गयो । अहिले श्रीमान् संगै हुनुुहुन्छ । “बुढाबुढी संगै गाई पालन गछौं, दुध बेच्छौं अहिले सवै पुगेको छ,” जमुना भन्छिन् ।
“घरमा संगै बस्न पाएकाछौ, संगै काम गरी यति राम्रो आन्दानी भइरहेको छ, मुस्कुराउँदै हामि बुढाबुढी खुखि छौ” जमुना थप्छिन् ।
पहिले देखि यसरी आफ्नै गाउँघरमा केहि गरेको भए राम्रै कमाई भइसक्थ्यो । श्रीमानको बिदेशको चक्करले १२,१५ बर्ष खेर गयो । अब चाहि हाम्रो पेशा यहि हो । राम्रो बचत भइरहेको छ । छोरो सानो छ । व्यवसाय प्रति सन्तुष्ट देखिने जमुना अव छोरोलाई पढाउने लेखाउने सवै यसैबाट गर्छु भन्छिन् ।


युवा तथा साना व्यवसायी स्वरोगार कोषको सहुलित कर्जाले स्वरोजगार मात्र हैन आफ्नो परिवारलाई संगै रहेर जिवन बिताउने वातावरण सिर्जना गरिदिएकोमा कोषलाई धन्यवाद समेत दिन्छिन् जमुना । रोजगारीकोलागि बिदेशिन चाहने नेपाली युवालाई पनि स्वदेशमै केहि गर्ने उनको सल्लाह छ । गर्छु भन्नेलाई स्वरोजगार कोष जस्ता सहयोगी हात नेपालमै छन् भन्छिन् जमुना ।
उनि अगाडी भन्छिन् नेपालमै केहि गर्नुस् मेहेनत गरे बिदेश भन्दा स्वदेशमै त्यो पनि परिवार संगै रमाउँदै उन्नती गर्न सकिन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*