११ आश्विन २०७८, सोमबार  |  27 September 2021,Monday
Ad

श्रीस्वस्थानी व्रतकथा आज सकिदै


७, फाल्गुन, काठमाडौं । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा (आज) मंगलवार शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन, भनी ब्रतकथामा उल्लेख गरिएको छ ।
यस्ती देवीको विधिपूर्वक ब्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ ।
सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गरेकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।
आज व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने १०८ रोटी, १०८ पान, १०८ कुड्का सुपारीलगायतका सामग्री मध्ये आठ–आठवटा रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमानलाई, श्रीमान नभए छोरालाई, छोरा पनि नभए मितछोरालाई दिने र मितछोरा पनि नभए मेरो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ ।
यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको छ ।
एकतीस अध्याय रहेको यस कथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने एवं मनले चिताएको पुग्ने कुरा पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।
कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जीत र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गरिएको छ ।
स्थानीय भक्तजनका अनुसार परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जल, प्रसाद ग्रहण गरी गत पौष शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए । सो मन्दिर पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना मात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन छ ।

स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा समयका प्रभावले पानी शुद्ध र स्वच्छ हुने उल्लेख गरिएकाले यस अवधिमा पनि सात्विक भोजनका साथ बिहान स्नान गरी श्रीस्वस्थानीको पूजापाठ गर्नाले ठूलो फल मिल्ने उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*