११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

मानव अधिकार संरक्षण गर्न सबैको योगदान आवश्यक : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानद्वारा प्रत्याभूत मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनबाट नै न्याय र समानतामा आधारित सामाजिक, आर्थिक व्यवस्था कायम भइ समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाक्षा हासिल गर्न सकिने बताएकी छिन्‌। ७२ औं अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले मानवाधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन एवम् कार्यान्वयनलाई सुनिश्‍चित गर्न समाजका सबै क्षेत्र, पेसा, व्यवसाय र वर्गको योगदान आवश्यक रहेकामा जोड दिएकी हुन्‌।

राष्ट्रपतिको शुभकामना सन्देशमा नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्वर्द्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महत्वका साथ अङ्गीकार गरेको छ। समावेशीकरणको नीतिद्वारा सबै वर्ग र समुदायका सीमान्तकृत नागरिकलाई राज्यको मूलधारमा समाहित गर्न पनि हाम्रो संविधानले मार्गप्रशस्त गरेको छ।

आधारभूत मानवअधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि संवैधानिक आयोग तथा विभिन्न निकायहरू क्रियाशील रहेकको उल्लेख छ । राष्ट्रपति भण्डारीले यस अवसरमा देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै सबै जातजाति, भाषा, संस्कृति तथा सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता सुदृढ बनाउन सम्बद्ध सबै पक्ष र निकायलाई मानवअधिकारको मर्म तथा भावना आत्मसात् प्रेरणा मिलोस् भन्ने कामना पनि गरेकी छिन्‌।

सन् १९४८ डिसेम्बर १० तारिखमा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका रूपमा प्रत्येक वर्ष मनाइन्छ । मानवाधिकारका विषय अविभाज्य रहने तथा तिनको अन्तर्राष्ट्रिय आयाम हुने मान्यतालाई नेपाललगायत संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रले स्वीकार गरेका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*