१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

प्रधानमन्त्री ओलीका पछिल्लो अभिव्यक्तीप्रति कांग्रेसको आपत्ती


नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले पछिल्ला केही दिनयता दिएका सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। उसले प्रधानमन्त्री ओलीले पदिय गरिमालाई समेत माटोमा मिलाएको टिप्पणी गरेको छ ।

प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात् बनाउँदै लगेका बताएका छन् । उनले विज्ञप्तीमा उल्लेख गरेका छन्, ‘आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनुभएको छ। उहाँको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद पनि छ।’

संसद् विघटनको विरोध गर्नेहरु देशविरोधी हुन् भनेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको विज्ञप्तीमा विज्ञप्तिमा उल्लेख छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार भन्दै उनले प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिकमात्रै नभई उनको अधिनायक आकांक्षालाई यसले थप उजागर गरेको उल्लेख गरेका छन्।

सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको उल्लेख गर्दै विज्ञप्तीमा सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान भएको टिप्पणी गरिएको छ । कांग्रेसको विज्ञप्तीमा आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई अजासु भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट भएको उल्लेख छ ।

संसद विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लाञ्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लाञ्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन कांग्रेसले प्रधानमन्त्री ओलीलाई चेतावनी समेत दिएको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*