८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

पाकिस्तानमा कोइलाखानीका ११ मजदुरको अपहरणपछि हत्या

पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ । ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो ।

मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन् । शिया इस्लाम धर्म मान्ने भएकाले उनीहरूलाई कट्टरपन्थीहरूले निसाना बनाउने गरेका छन् । प्रधानमन्त्री इमरान खानले उक्त घटनालाई “अमानवीय आतङ्ककारी कार्य” भन्दै निन्दा गरेका छन् ।

त्यो आक्रमण शनिवार अबेर राति उक्त प्रान्तको राजधानी क्वेटा नजिकैको माच सहरमा भएको हो । उक्त क्षेत्र अफगानिस्तानको सीमा नजिकै पर्छ । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब क्षेत्र हो ।

हतियारधारीहरूले ती मजदुरहरूलाई उनीहरूको सामूहिक वासस्थानबाट अपहरण गरेका थिए र नजिकैको पहाडमा लगेका थिए । ६ जना मजदुरहरू घटनास्थलमै मारिएका थिए भने अन्य पाँच जनालाई अस्पताल लादै गर्दा बाटोमै निधन भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेको छ ।

बीबीसी सम्वाददाता सिकन्दर केर्मानीका अनुसार एउटा भिडिओमा पीडितहरूको शव क्षतविक्षत अवस्थामा देखिएको छ भने उनीहरूको हात बाँधिएको छ । न्याय माग्दै पीडितका परिवारले मुख्य सडकमा शव राखेर सवारीसाधनहरू रोकिदिएका छन् ।

अधिकारीहरूले दोषीलाई पक्राउ गर्ने बाचा गरेका छन् । सुन्नीबहुल पाकिस्तानमा हजारा समुदायलाई कट्टरपन्थीहरूले बारम्बार निसाना बनाउने गर्छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*