news samaya Logo
 |  20 June 2021,Sunday
Ad

चेपाङ बालबालिकालाई विद्यालय टिकाउनै गाह्रो

  • १७ फाल्गुन २०७५, शुक्रबार
  • समाज

१७, फागुन, भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका– १ भाराङ्गीकी १८ वर्षकी लालकुमारी चेपाङका काखमा दुई सन्तान छन् । १५ वर्षको उमेरमा बिहे गर्नुभएकी लालकुमारीले कक्षा ४ मा पढ्दापढ्दै विद्यालय छाड्नु भएको थियो । 
कलिलो उमेरमै दुई सन्तानकी आमा बन्नुभएकी लालकुमारीको बिहेपछि धेरै अध्ययन गर्ने सपना अधुरो रह्यो । लालकुमारीलाई अझै पनि पढ्ने इच्छा छ तर उहाँलाई काखका सन्तान स्याहार्ने फुर्सद छैन । 
लालकुमारी जस्तै इच्छाकामना–२ थाप्राङ्की २२ वर्षीय माया चेपाङको पनि अवस्था उस्तै छ । उहाँको बिहे भएको छ वर्ष भयो । मायाको १६ वर्षको उमेरमा बिहे भएको थियो । त्यतिबेला माया कक्षा ६ मा अध्ययन गर्नुहुन्थ्यो । बिबाहपछि उहाँले अध्ययनलाई निरन्तरता दिन सक्नु भएन । कलिलै उमेरमा उहाँका तीन सन्तानका आमा बन्नुभएको छ । 
‘‘सन्तानलाई पढाउने उहाँको इच्छा छ तर परिवारको अवस्थाले नियमित स्कुल पठाउन सक्ने अवस्था छैन्”, माया भन्नुहुन्छ, “गरीब भएकै कारण पढ्नसमेत नसक्ने अवस्था हुँदो रहेछ, मायाले गुनासो गर्नुभयो ।” 
इच्छाकामना एककै सन्तु चेपाङ अहिले १६ वर्षको हुनुभयो । उहाँको पनि यसैवर्ष बिहे भएको हो । उहाँले एक कक्षा पनि पढ्न पाउनुभएको छैन् । घरको अवस्था र साना भाइबहिनी हेर्नुपरेका कारण पढ्न नपाएको उहाँ बताउनुहुन्छ । उहाँहरु जस्तै चितवनका पहाडी क्षेत्रका अधिकांश चेपाङ समुदायका बालबालिकाको पढाइ नियमित छैन् । 
कोही विद्यालय नै जान पाउँदैनन् भने गएका पनि नियमित हुँदैनन् । चेपाङ गाउँ पस्नेबित्तिकै पूरै जीउ नढाकिएका महिला र फाटेका जाँघे लगाएर खेल्दै गरेका निर्बाध बालबालिका देख्नु सामान्य नै हो । कतै स्कुल जाने उमेरका कलिला युवती काखे नानी लिएर काममा जोतिँदै गरेको देखिन्छ । 
चेतनाको अभाव, गरीबी र भौगोलिक विकटताका कारण चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउनै समस्या देखिएको राष्ट्रिय आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङ बताउनुहुन्छ । बल्लतल्ल भर्ना भएका विद्यालय तहका बालबालिका बीचैमा पढाइ छोड्ने समस्या झन् तड्कारो बनेको उहाँको भनाइ छ । ‘‘अधिकांशका अभिभावक शिक्षित छैनन्’’ गुरुङले भन्नुभयो “बाबुआमा काममा जानुपर्ने भएकाले ठूलाले सानालाई हेर्नुपर्नै बाध्यता छ ।” भौगोलिक विकटताका कारण पनि कतिपय बालबालिका नियमित विद्यालय आउन नसकेको गुरुङले बताउनुभयो । 
चेपाङ गाउँको अर्को समस्या सानैमा कुल्ली काम गर्न बजार जानु पनि हो । परिवारको आर्थिक अवस्थाका कारण सानैमा घरखर्च चलाउन बालबालिकालाई श्रमको रुपमा प्रयोग गर्ने गरिएको गुरुङले बताउनुभयो । कक्षा ५ सम्म अध्ययन हुने राष्ट्रिय आधारभूत विद्यालय भाराङ्गमा २०९ जना विद्यार्थी छन् । तीमध्ये १५० जना मात्र नियमित छन् । पछिल्लो समय भरतपुरलगायतका क्षेत्रमा चेपाङ बालबालिका लागि खोलिएका विभिन्न संरक्षण केन्द्र र विद्यालयका कारण पनि गाउँमा अध्ययन गर्नेको कमी भएको उहाँले बताउनुभयो । 
इच्छाकामना गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देल खाजा कार्यक्रम हटेपछि चेपाङ बालबालिकालाई विद्यालयमा नियमित बनाउन धौधौ भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चेपाङ गाउँमा खाजा कार्यक्रम प्रभावकारी बनेको थियो, खाजा कटौती भएपछि बालबालिका विद्यालय आउनै छाडे ।” बालबालिकालाई नियमित विद्यालय ल्याउनका लागि अनुगमन र घरदैलोलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । 
शिक्षक दरबन्दी मिलान गर्दा पनि बढी विद्यार्थी भएको विद्यालयमा शिक्षक पठाएको सिग्देलको भनाइ छ । चेपाङ बालबालिका विद्यालयमा नियमित नभएपछि एकीकृत गरेर छात्रवास सञ्चालन गरेर पढाउने योजना गाउँपालिकाको रहेको छ । इच्छाकामना–१ को मावि हात्तीबाङमा छात्रवास निर्माण भइरहेको सिग्देलले बताउनुभयो । चेपाङ गाउँका बालबालिका करीब तीन घण्टासम्म हिँडेर विद्यालय जान बाध्य छन् । 
(रासस)

सेयर गर्नुहोस ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*

shares